काठमाडौँ । बिनाजानकारी लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका एक सहसचिवसँग संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्पष्टीकरण सोधेको छ ।
मन्त्रालयले एक सार्वजनिक सूचना जारी गर्दै ९० दिनभन्दा बढी समयदेखि गायब रहेका ती उच्च अधिकारीलाई कारबाही प्रक्रिया अघि बढाएको हो ।
विभिन्न माध्यमबाट सम्पर्क गर्ने प्रयास गर्दा पनि ती सहसचिव सम्पर्कमा नआएको र उनको अवस्थाबारे कुनै जानकारी प्राप्त नभएको मन्त्रालयले जनाएको छ । उनी गत २०८२ साल माघ ११ गतेदेखि नै लगातार कार्यालयमा अनुपस्थित रहँदै आएका थिए । निजामती सेवा ऐन, २०४९ को प्रावधान अनुसार उनलाई सरकारी सेवाबाट बर्खास्त गर्ने तयारी मन्त्रालयले गरेको छ ।
यसै सन्दर्भमा १५ दिनभित्र चित्तबुझ्दो कारण र प्रमाणसहित सफाइ पेस गर्न उनलाई अन्तिम मौका दिइएको छ । मन्त्रालयले पछिल्लो समय कार्यालयमा हाजिर नहुने, विदेशमा लुकेर बस्ने र लामो समयसम्म बेपत्ता हुने कर्मचारीहरूमाथि निगरानी तथा खोजी कार्यलाई निकै तीव्रता दिएको बताएको छ ।

