काठमाडौँ । स्वदेशी कृषि उपजले उचित मूल्य र बजार नपाएको भन्दै आक्रोशित किसानहरूले बुधबार माइतीघर मण्डलामा टमाटर सडकमा फालेर विरोध प्रदर्शन गरेका छन् ।
विदेशी आयातका कारण स्थानीय उत्पादन बजारमा बिक्न छाडेपछि काठमाडौँ उपत्यकाका किसानहरूले सरकारको नीतिको विरोधमा यो कदम चालेका हुन् ।
प्रदर्शनकारी किसानहरूका अनुसार बजारमा टमाटर बिक्री नहुँदा लगानीसमेत उठ्न सकेको छैन । सरकारले कृषि क्षेत्र र किसानका समस्यालाई बेवास्ता गरेको उनीहरूको आरोप छ ।
स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुको साटो आयातमुखी नीतिलाई प्रश्रय दिइएकाले नेपाली कृषि क्षेत्र संकटमा परेको भन्दै उनीहरूले तत्काल कृषि उत्पादनको न्यूनतम समर्थन मूल्य तोक्न माग गरेका छन् । यसका साथै मल र बीउ सहज रूपमा उपलब्ध गराउन तथा उचित बजार व्यवस्थापन गर्न पनि उनीहरूले सरकारसँग आग्रह गरेका छन् ।

