काठमाडौँ । सेयर बजारमा ठूला र संस्थागत लगानीकर्ता भित्र्याउन नेपाल धितोपत्र बोर्डले सक्रियता देखाएको छ ।
बोर्डले बिहीबार कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष र नेपाल बीमा प्राधिकरणका उच्च अधिकारीहरूसँग यस विषयमा विशेष छलफल गर्यो ।
अन्तर्राष्ट्रिय बजारहरूमा संस्थागत लगानीकर्ताको ठूलो हिस्सा हुने भएकाले त्यहाँको बजार बलियो, सन्तुलित र जिम्मेवार हुने बोर्डको भनाइ छ । नेपालमा सर्वसाधारण लगानीकर्ताको संख्या निकै बढे पनि संस्थागत रूपमा हुने लगानी अझै कमजोर रहेकाले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा यसलाई मुख्य प्राथमिकतामा राखिएको बोर्डले स्पष्ट पारेको छ ।
बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टको नेतृत्वमा भएको उक्त बैठकमा सहभागी संस्थाहरूले आफ्नो वर्तमान लगानीको अवस्था, भोग्नुपरेका व्यवधान र सुधारका उपायहरूबारे कुरा राखेका थिए । बजारमा पर्याप्त पैसाको प्रवाह कायम राख्न, कम्पनीहरूको सेयर मूल्य सही रूपमा तय गर्न र संस्थागत सुशासन बलियो बनाउन ठूला लगानीकर्ताको भूमिका कति महत्त्वपूर्ण हुन्छ भन्ने विषयमा छलफल केन्द्रित थियो ।
छलफलमा अध्यक्ष भट्टले अबका दिनमा परम्परागत तरिका छाडेर आधुनिक र रणनीतिक ढंगले लगानी गर्न ती संस्थाहरूलाई आग्रह गरे । उनले संस्थागत लगानी बढाउनका लागि नियम र नीतिहरूमा गर्नुपर्ने आवश्यक सहजीकरणका लागि बोर्ड सधैँ तयार रहेको प्रतिबद्धता समेत जनाए । बजारलाई थप स्थिर, सुरक्षित र भरपर्दो बनाउन बोर्डले नयाँ नीति तथा कार्यक्रमहरू कार्यान्वयनमा ल्याउने लक्ष्य राखेको छ ।

