काठमाडौँ । उपचार तथा वैदेशिक भ्रमणका क्रममा लामो समय बाहिर रहेका नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा स्वदेश फर्किएका छन् ।
स्वास्थ्य उपचारका लागि गत फागुनमा सिंगापुर प्रस्थान गरेका देउवा त्यसपछि हङकङतर्फ लागेका थिए । स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई कांग्रेसका संस्थापन इतर समूहका नेता तथा कार्यकर्ताहरूले भव्य स्वागत गरे । संस्थापन इतर पक्षको राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाको नेतृत्वमा पुगेका नेताहरूले देउवालाई विमानस्थलबाट सिधै उनको निवास चुनदेवीसम्म पुर्याउने कार्यक्रम रहेको छ ।
उक्त अवसरमा नेताहरू पूर्णबहादुर खड्का, कृष्णप्रसाद सिटौला, डा. शशांक कोइराला, प्रकाशमान सिंह, डा. प्रकाशशरण महत, एनपी साउद तथा दीपक खड्कालगायतका शीर्ष नेताहरूको उपस्थिति रहेको थियो । विमानस्थलमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै डा. शशांक कोइरालाले आफूहरूका लागि अझै पनि देउवा नै सभापति रहेको प्रतिक्रिया दिए ।

