काठमाडौँ । नुवाकोटको शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङमा रोकिराखेको विद्युतीय भ्यानलाई बसले ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ भने अन्य तीन जना घाइते भएका छन् ।
शनिबार बिहान करिब ८:२५ बजे बा १ ख ००५२ नम्बरको बस एक्कासि अघि बढेर सडक किनारमा पार्क गरी राखिएको बा ३–००१ ज ११७६ नम्बरको खाली भ्यानसँग ठोक्किएको थियो । ठक्करको तीव्रताका कारण दुवै सवारी साधन सडकबाट करिब ३० देखि ४० मिटर तल भिरमा खसेका थिए ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका पाँचै जनालाई तत्काल उपचारका लागि काठमाडौँस्थित ग्रिनसिटी अस्पताल ल्याइएको थियो । तर, अस्पताल पुर्याउनासाथ चिकित्सकले दुई जनालाई मृत घोषणा गरे ।
मृत्यु हुनेमा काभ्रेपलाञ्चोकको बनेपा–८ की ५४ वर्षीया कृष्णमाया प्रजापती डंगोल र रामेछापको सुनापति (ठाडादेवी) गाउँपालिका–२ की ६५ वर्षीया उदयमाया खत्री रहेका छन् ।
दुर्घटनामा सर्लाही लालबन्दी–९ की २५ वर्षीया सुजता पोखरेल, बनेपा–१० की ४२ वर्षीया सर्मिला श्रेष्ठ र दोलखा मेलुङ–६ की ६० वर्षीया ज्ञानु श्रेष्ठ घाइते भएका छन् । उनीहरूको ग्रिनसिटी अस्पतालमै उपचार भइरहेको छ ।
प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाको थप कारणबारे अनुसन्धान सुरु गरेको जानकारी दिएको छ ।

