काठमाडौँ । नागपञ्चमीका अवसरमा थारू बस्तीहरूमा आज विशेष सांस्कृतिक रौनक छाएको छ । पश्चिम नेपालका दाङ, बाँके, बर्दिया, कैलाली तथा कञ्चनपुर लगायतका जिल्लाहरूमा बसोबास गर्ने थारू समुदायले आफ्नो परम्परागत गुरिया (गुरही) पर्व धूमधामका साथ मनाउँदै छन् ।
गाउँघरमा कुनै पनि किसिमको रोगव्याधी नैलियोस्, सुरक्षा कायम रहोस् र दाजुभाइ तथा दिदीबहिनीबीच आपसी सद्भाव र प्रेम अभिवृद्धि होस् भन्ने कामनासहित यो पर्व मनाउने गरिन्छ । विशेषगरी बालबालिकाहरूको सहभागिता र उत्साहसँग जोडिएको यस पर्वमा दिदीबहिनीहरूले कपडाबाट निर्मित पुतली (गुरिया) फाल्ने र दाजुभाइहरूले त्यसलाई लट्ठीले पिटेर पन्छाउने मौलिक चलन छ । यस प्रक्रियालाई खराब आचरण, दुःख अनि कष्टहरू हटाई सुख-समृद्धि भित्र्याउने प्रतीकका रूपमा लिइन्छ ।
थारू लोकसंस्कृतिको अभिन्न अङ्ग बनिसकेको यसै पर्वको ऐतिहासिक महत्त्वलाई सम्मान गर्दै बर्दियाको राजापुरस्थित एउटा चोकको नाम नै ‘गुरिया चोक’ राखिएको छ । कपडा र घरायसी कपडाका टुक्राहरू जोडेर छोरीको आकृतिजस्तै बनाई तयार पारिने खेलौना वा पुतलीलाई ‘गुरिया’ भनिन्छ । त्यस्तै, थारू भाषामा ‘गुरही’ भन्नाले पातला पखेटा भई उड्ने किरालाई जनाउँछ, जसलाई नेपालीमा ‘गाइने किरा’ र दाङ क्षेत्रमा ‘झिङ्गौरा’ भनेर चिनिन्छ ।

