पोखरा । पोखरा महानगरपालिकाले ग्यासको अभाव चुलिँदै गएपछि नगरवासीलाई विकल्पका रूपमा विद्युतीय चुल्हो वितरण गर्न थालेको छ ।
वडा नम्बर २२ का दुई सय परिवारलाई पहिलो चरणमा चुल्हो उपलब्ध गराइएसँगै महानगर क्षेत्रमा स्वच्छ र स्वदेशी ऊर्जाको प्रयोग प्रवर्द्धन गर्ने अभियान सुरु भएको हो ।
महानगर प्रमुख धनराज आचार्यले स्थानीयवासीलाई विद्युतीय चुल्हो हस्तान्तरण गर्दै ग्यासको परनिर्भरता हटाउन र स्वदेशी विद्युत्को खपत बढाउन यो कदम चालिएको बताए ।
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको ७० प्रतिशत र उपभोक्ताको ३० प्रतिशत लागत साझेदारीमा तयार पारिएको यो कार्यक्रमअन्तर्गत कालाबाङ र भुम्दीसहित पाँच टोलका बासिन्दा लाभान्वित भएका छन् ।
वडाध्यक्ष हिमलाल बरालका अनुसार आगामी दिनमा यस वडामा दुई हजारभन्दा बढी विद्युतीय चुल्हो वितरण गर्ने लक्ष्य छ । सन् २०४३ सम्म पोखरालाई कार्बन तटस्थ सहर बनाउने रणनीतिक योजनाअनुसार नै महानगरले ऊर्जाको पहुँचमा परिवर्तन ल्याउन खोजेको हो ।

