काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले आज प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन् ।
प्रदेशसभा सचिवालयका अनुसार अधिवेशनको १८औँ बैठक आज दिउँसो ४ बजेका लागि बोलाइएको छ । यसअघि सोमबार दिउँसो १ बजे तय गरिएको बैठक पटक-पटक सारेर राति ८ बजे पुर्याइए पनि सत्तापक्षीय गठबन्धनभित्रको आन्तरिक किचलोका कारण बस्न नसकेपछि आजका लागि सारिएको हो ।
सरकारलाई समर्थन गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहित सत्तारुढ घटक नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेकपा एमालेभित्र असमझदारी बढेको छ ।
नेकपाका केही प्रदेशसभा सदस्यहरूले असन्तुष्टि जनाउँदै बैठकमा अनुपस्थित हुने चेतावनी दिएका छन् । ११० सदस्यीय प्रदेशसभामा ६ जनाले राजीनामा दिएपछि हाल कायम १०४ सदस्यमध्ये बहुमतका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ ।

