काठमाडौँ । नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि श्रीलंकाली राजदूत रुवन्थी डेल्पिटियाबीच आज परराष्ट्र मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ ।
भेटका अवसरमा राजदूत डेल्पिटियाले हालै नेपालमा आएको विनाशकारी बाढीका कारण पुगेको क्षतिप्रति श्रीलंका सरकार र त्यहाँका जनताका तर्फबाट गहिरो समवेदना प्रकट गर्दै ऐक्यबद्धता जनाइन् ।
विपद्पछि जारी राहत तथा पुनरुत्थान कार्यमा सघाउ पुर्याउने उद्देश्यले उनले श्रीलंका सरकारका तर्फबाट १० लाख अमेरिकी डलर (करिब १३ करोड रुपैयाँ) बराबरको आर्थिक सहयोग रकम हस्तान्तरण गरेकी हुन् ।
नेपाललाई संकटको घडीमा प्राप्त सहयोगप्रति परराष्ट्रमन्त्री खनालले श्रीलंका सरकार र त्यहाँका जनतालाई विशेष धन्यवाद ज्ञापन गरे । दुई देशबीच रहेको ऐतिहासिक सम्बन्ध र आपसी सद्भावको यो सहयोग प्रत्यक्ष प्रमाण भएको टिप्पणी उनले गरे ।

