काठमाडौँ । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको नेपाली प्रतिनिधिमण्डल अमेरिकाको न्युयोर्क जाने भएको छ ।
आगामी सेप्टेम्बर २२ देखि २८ सम्म हुने उच्चस्तरीय छलफलअन्तर्गत प्रधानमन्त्री शाहले सेप्टेम्बर २४ मा महासभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
महासभामा प्रधानमन्त्री शाहले नेपालको वर्तमान राजनीतिक अवस्था, नयाँ सरकारका मुख्य प्राथमिकता तथा अन्तर्राष्ट्रिय सहकार्यका विविध पक्षबारे स्पष्ट धारणा राख्नेछन् । साथै, गत अगस्ट २६ मा रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीको प्रसङ्ग उठाउँदै जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको गम्भीर क्षतितर्फ विश्व समुदायको ध्यानाकर्षण गराउने रणनीति बनाइएको छ । नेपालको नगन्य योगदानका बाबजुद जलवायु परिवर्तनको ठूलो मार खेप्नुपरेकाले जलवायु न्याय, क्षतिपूर्ति, सहुलियतपूर्ण जलवायु वित्त र आवश्यक प्रविधि उपलब्ध गराउन आग्रह गरिनेछ ।
भ्रमणका क्रममा नेपालले ‘हिमालदेखि समुद्रसम्म : जलवायु उत्थानशील भविष्यका लागि कार्य आह्वान’ शीर्षकमा विशेष साइड इभेन्टसमेत आयोजना गर्दैछ ।
परराष्ट्रमन्त्री शिशिर खनालले विभिन्न मन्त्रीस्तरीय बैठक र समकक्षीहरूसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । प्रतिनिधिमण्डलमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार र परराष्ट्र सचिव अमृतबहादुर राईलगायतका उच्च अधिकारीहरू सामेल हुनेछन् ।

