काठमाडौँ । कैलालीको गौरीगंगा नगरपालिका–४ मा रहेको कालिका माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति सदस्य देवबहादुर बमविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सेवाग्राहीलाई तोकिएको थप सेवा सुविधा तथा पारिश्रमिक उपलब्ध गराउने निर्णय गराइदिने बहानामा बमले दुई लाख रुपैयाँ घुस लिएको दाबी अख्तियारको छ ।
अख्तियारको कञ्चनपुरस्थित कार्यालयबाट खटिएको टोलीले बमलाई दुई लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानका क्रममा उनले पदीय हैसियतको दुरुपयोग गर्दै रकम असुल गरेको पुष्टि भएपछि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ (१) अनुसार कारबाहीको माग गरिएको छ । आयोगले बमबाट दुई लाख रुपैयाँ बिगो असुल गरी सोही बराबरको जरिवाना र कैद सजायको मागदाबी गर्दै आरोपपत्र दर्ता गराएको छ ।

