काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत शनिबारदेखि सुरु भएको वडा अधिवेशन आज देशभर सम्पन्न हुँदैछ ।
केन्द्रीय निर्वाचन समितिका अनुसार शनिबारसम्म ४३ जिल्लाका ३ हजार ३९६ वडामा अधिवेशन तथा निर्वाचन प्रक्रिया सकिसकेको छ । अधिवेशनबाट वडा कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधि चयन गर्ने कार्य भइरहेको छ ।
ताप्लेजुङ, पाँचथर, झापा, काठमाडौँ, कास्की, कैलाली लगायतका ४३ जिल्लामा अधिवेशन सम्पन्न भइसकेको छ भने रसुवा, नुवाकोट र धादिङबाहेकका ३१ जिल्लामा आइतबार पनि प्रक्रिया जारी रहने जनाइएको छ ।
बाढी प्रभावित क्षेत्रमा भने स्थानीय अवस्था हेरेर अधिवेशन सञ्चालन गरिनेछ । देशभरका ६ हजार ७४३ वडाबाट विधानअनुसार ८५ हजार ४३४ जना प्रतिनिधि निर्वाचित हुनेछन् ।
वडा अधिवेशनपछि पालिका, असोज ७ मा जिल्ला र असोज १० मा प्रदेश अधिवेशन हुँदै असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा १५औँ केन्द्रीय महाधिवेशन आयोजना हुने कार्यतालिका रहेको छ ।

