काठमाडौँ । यातायात व्यवस्था विभागले विद्युतीय प्रणालीको प्रयोग गर्दै सवारी चालक अनुमतिपत्र छपाइ कार्यलाई तीव्रता दिएको छ ।
लामो समयदेखि थुप्रिएको लाइसेन्स छपाइको बक्यौता हटाउन र सेवाग्राहीलाई सहजता प्रदान गर्न साउन १ देखि यो नयाँ प्रविधि सञ्चालनमा ल्याइएको हो । यस प्रणालीअन्तर्गत नयाँ लाइसेन्स जारी गर्ने तथा पुरानाको नवीकरण गर्ने कार्य अघिल्ला वर्षहरूभन्दा द्रुत गतिमा हुने विश्वास लिइएको छ ।
नयाँ व्यवस्था अनुसार सेवाग्राहीको विवरण प्रणालीमा दर्ता हुनासाथ सोझै सुरक्षण मुद्रण केन्द्रमा पुग्नेछ । मुद्रण केन्द्रले कार्ड छपाइ सम्पन्न गरेपछि हुलाक सेवामार्फत सम्बन्धित यातायात व्यवस्था कार्यालयहरूमा पठाउनेछ । परीक्षणका रूपमा पहिलो चरणमै मधेश प्रदेशका ३ हजार ८१ जनाका लाइसेन्स छापेर सम्बन्धित कार्यालयमा पठाइसकिएको छ ।
प्रदेश सरकारहरूले सुरक्षण मुद्रणसँग सीधै सम्झौता गरी आफ्नो अनुकूलतामा लाइसेन्स छपाई गर्न सक्ने प्रावधान बनाइएको छ । सोही व्यवस्था अनुसार मधेश प्रदेशले लाइसेन्स छाप्न थालिसकेको छ भने लुम्बिनी प्रदेशले पनि गत शुक्रबारबाट छपाइ प्रक्रिया सुरु गरिसकेको छ ।
प्रदेशले सम्झौता नगरेको खण्डमा भने विभाग र सुरक्षण मुद्रणको संयुक्त समन्वयमा छपाइ निरन्तर रहनेछ ।

