काठमाडौँ । हरेक वर्ष सेप्टेम्बर २५ तारिखका दिन संसारभरका औषधिविज्ञहरूको योगदानलाई स्मरण गर्दै विश्व फार्मासिस्ट दिवस मनाउने गरिन्छ ।
नागरिकको स्वास्थ्य सुरक्षा र उचित औषधि उपचार प्रणालीमा फार्मासिष्टहरूले खेल्दै आएको भूमिकालाई कदर गर्दै यो दिवस मनाउन थालिएको हो । यस वर्ष अन्तर्राष्ट्रिय औषधि महासंघ (एफआईपी) ले ‘स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाऔँ’ भन्ने मूल नाराका साथ यो दिवस मनाइने जनाएको छ ।
सन् १९१२ मा स्थापना भएको अन्तर्राष्ट्रिय औषधि महासंघ काउन्सिलको निर्णयअनुसार सन् २००९ देखि यो दिवस नियमित रूपमा मनाउन थालिएको हो ।
टर्कीको इस्तानबुलमा सम्पन्न ‘वर्ल्ड कंग्रेस अफ फार्मेसी एन्ड फार्मास्युटिकल साइन्स’ को बैठकले हरेक वर्ष सेप्टेम्बर २५ लाई विश्व फार्मासिस्ट दिवसका रूपमा मनाउने घोषणा गरेको थियो । बिरामीलाई सही औषधिको छनोट, प्रयोग र परामर्श दिँदै स्वास्थ्य सेवामा पुर्याएको अतुलनीय योगदानको कदर गर्नुका साथै यो पेसासँग आबद्ध विज्ञहरूलाई सम्मान व्यक्त गर्नु यस दिवसको मुख्य ध्येय हो ।

