काठमाडौँ । एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा आज नेपाल र अफगानिस्तान आमनेसामने हुँदैछन् । जापानको निसिनस्थित कोरोगी खेलकुद पार्कमा हुने यो खेल नेपाली समय अनुसार बिहान १०:४५ बजे सुरु हुनेछ ।
नेपाल प्रतियोगिताको समूह ‘ए’ मा अफगानिस्तान र जापानसँगै रहेको छ । यस समूहको उद्घाटन खेलमा अफगानिस्तानले जापानलाई हराएर सुखद सुरुवात गरिसकेको छ । अफगानिस्तानले यस प्रतियोगिताका लागि आफ्नो दोस्रो तहको टोली मैदानमा उतारेको छ । नेपालले समूह चरणको दोस्रो तथा अन्तिम खेल सेप्टेम्बर २६ मा आयोजक जापानसँग खेल्नेछ ।
अर्कोतर्फ समूह ‘बी’ मा हङकङ, मलेसिया र ओमान प्रतिस्पर्धा गर्दैछन् । दुवै समूहका शीर्ष दुई-दुई टोली गरी कुल चार टोली क्वाटरफाइनलमा प्रवेश गर्नेछन् । क्वाटरफाइनलका खेलहरू सेप्टेम्बर २८ र २९ मा तय गरिएका छन् । दक्षिण एसियाका चार प्रमुख टोलीहरू—भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशले भने सिधै क्वाटरफाइनलबाट आफ्नो यात्रा सुरु गर्नेछन् ।
प्रतियोगिताको सेमिफाइनल अक्टोबर १ मा हुनेछ भने कांस्य पदकको भिडन्त र फाइनल खेल अक्टोबर ३ मा आयोजना हुने तालिका छ ।
नेपाली टोलीको नेतृत्व दीपेन्द्रसिंह ऐरीले गरिरहेका छन् । १५ सदस्यीय नेपाली टोलीमा ऐरीसहित कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, आरिफ शेख, गुलशन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने, ललित राजवंशी, शेर मल्ल, सन्दीप जोरा, कुशल मल्ल र लोकेश बम समावेश छन् ।
यसअघि सन् २०२३ मा चीनमा भएको एसियाली खेलकुदको पुरुष क्रिकेटमा भारतले स्वर्ण र बंगलादेशले कांस्य पदक जितेका थिए ।

