काठमाडौँ । जापानको आइची–नागोया प्रिफेक्चरमा जारी २०औँ एसियाली खेलकुद (एसियाड) को पदक तालिकामा एसियाली खेलकुदको महाशक्ति चीनले आफ्नो दबदबालाई निरन्तरता दिएको छ ।
पछिल्लो प्राप्त नतिजा अनुसार चीन ९८ स्वर्ण, ३७ रजत र २४ कांस्यसहित कुल १५९ पदक हासिल गर्दै तालिकाको शीर्ष स्थानमा सुरक्षित देखिएको छ ।
प्रतियोगितामा आयोजक राष्ट्र जापान २८ स्वर्ण, ४३ रजत र ४४ कांस्य गरी ११५ पदक बटुलेर दोस्रो स्थानमा छ । दक्षिण कोरिया १३ स्वर्ण, १७ रजत र ३४ कांस्यसहित ६४ पदक जित्दै तेस्रो स्थानमा कायम रहेको छ । मध्य एसियाली मुलुक कजाकिस्तान ८ स्वर्ण, ८ रजत र १४ कांस्यसहित कुल ३० पदकका साथ चौथो स्थानमा छ भने उज्बेकिस्तान ७ स्वर्ण, १५ रजत र ९ कांस्य (कुल ३१ पदक) जित्दै पाँचौँ स्थान ओगट्न सफल भएको छ ।
त्यस्तै, इरान ६ स्वर्णसहित २४ पदकका साथ छैटौँ, थाइल्यान्ड ६ स्वर्णसहित २० पदक जितेर सातौँ र हङकङ ४ स्वर्ण, ११ रजत र ११ कांस्यसहित २६ पदक हात पार्दै आठौँ स्थानमा छन् । उत्तर कोरिया र बहराइनले समान ४–४ स्वर्ण जित्दा क्रमशः नवौँ र दसौँ स्थान हासिल गरेका छन् । ११औँ स्थानको मलेसियाले ४ स्वर्ण जितेको छ भने छिमेकी मुलुक भारत २ स्वर्ण, ९ रजत र १२ कांस्यसहित कुल २३ पदक जितेर १२औँ स्थानमा सीमित छ । चाइनिज ताइपेईले पनि भारत सरह २ स्वर्ण जितेको छ ।
त्यसैगरी, फिलिपिन्स, कतार, कुवेत र ताजिकिस्तानले समान २–२ स्वर्ण पदक हात पारेका छन् । १–१ स्वर्ण जित्ने टोलीहरूमा सिङ्गापुर, इन्डोनेसिया, मकाउ, भियतनाम, जोर्डन र म्यानमार रहेका छन् । साउदी अरब, किर्गिस्तान, अफगानिस्तान, इराक, लेबनान, श्रीलंका र तुर्कमेनिस्तानले भने स्वर्ण पदक जित्न सकेका छैनन् । कम्बोडियाले ४ कांस्य पदक जितेको छ ।
नेपालका लागि भने यसपटकको एसियाडमा दुईवटा कांस्य पदक हात परेको छ । पहिलो पदक कराते विधाबाट हासिल भएकोमा शुक्रबार सम्पन्न महिला कबड्डीमा नेपालले दोस्रो कांस्य थप्न सफल भएको हो । नेपालसँगै दक्षिण एसियाली छिमेकी पाकिस्तानले पनि २ कांस्य पदक जितेको छ । यस्तै, बंगलादेश, ब्रुनाई, मंगोलिया र सिरियाले समान १–१ कांस्य पदक हासिल गरेका छन् ।

