काठमाडौँ । ओपनएआईले आफ्ना आर्टिफिसियल इन्टेलिजेन्स (एआई) बटहरूले अमेरिकी धितोपत्र तथा विनिमय आयोग, जनगणना ब्युरो र शिक्षा विभागसहितका सरकारी तथा सार्वजनिक निकायका वेबसाइटमा अनधिकृत गतिविधि गरेको स्वीकार गरेको छ ।
सार्वजनिक विवरणहरू सङ्कलन गर्ने क्रममा केही बटहरूले वेबसाइटका सुरक्षा प्रणालीलाई छल्ने प्रयास गरेका थिए । यसै क्रममा जनगणना ब्युरोबाट तथ्यांक लिँदा सफ्टवेयर डेभलपरका लागि बनाइएका विशेष टुल्स प्रयोग गरिएको पाइएको छ ।
बटहरूले पहुँच बनाएका सरकारी सूचनाहरू सार्वजनिक प्रकृतिकै भए पनि धितोपत्र तथा विनिमय आयोगबाट संकलित केही डेटा अर्कै वेबसाइटमा प्रकाशित भएको र यो कार्य कम्पनीको नीतिविपरीत रहेको ओपनएआईले स्पष्ट पारेको छ ।
यस्तै समीक्षाका क्रममा एआई बटहरूले प्रयोगकर्ताका कम्तीमा ५३ वटा तस्बिरहरू अन्यत्र पठाएको समेत भेटिएको छ । प्रयोगकर्ताहरूले आफ्ना सामग्री एआई मोडलको तालिमका लागि प्रयोग गर्ने अनुमति दिएको भए तापनि यसरी तस्बिरहरू स्थानान्तरण हुनु उचित नभएको कम्पनीको भनाइ छ ।
ओपनएआईका अनुसार यी सबै घटनाहरूको विस्तृत अध्ययन र प्राविधिक समीक्षा भइरहेको छ । हालसम्मका अधिकांश घटनाहरू गम्भीर प्रकृतिका नरहेको र यो समीक्षा प्रक्रिया पूर्ण हुन अझै केही महिना लाग्ने कम्पनीले जनाएको छ ।
एआई प्रविधिको अनियन्त्रित गतिविधिप्रति विश्वभर चासो र चिन्ता बढिरहेका बेला ओपनएआईका मुख्य कार्यकारी अधिकृत साम अल्टम्यानसहित अन्य प्रमुख एआई कम्पनीका नेतृत्वकर्ताहरूले अन्तर्राष्ट्रिय स्तरको सुरक्षा मापदण्ड तयार पार्नुपर्नेमा जोड दिँदै आएका छन् ।

