काठमाडौँ । रसुवाको भोटेकोसी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीको स्थलगत अध्ययन तथा समीक्षाका लागि राष्ट्रियसभाले नौ सदस्यीय विशेष समिति गठन गरेको छ ।
बिहीबार बसेको राष्ट्रियसभा बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभा नियमावली २०७५ को नियम १६७ बमोजिम उक्त समिति गठन गरिएको जानकारी दिनुभयो ।
यसअघि विपक्षी दलहरूले दुवै सदनको संयुक्त विशेष समिति बनाउनुपर्ने अडान राखेका थिए । तर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहमति नजनाएपछि सुरुमा प्रतिनिधिसभाले मात्रै छुट्टै समिति बनाएको थियो । त्यसपछि राष्ट्रियसभाले पनि आफ्नै नयाँ समिति तयार पारेको हो ।
गठित समितिमा कृष्णप्रसाद पौडेल, गीता देवकोटा, घनश्याम रिजाल, श्रीकृष्णप्रसाद अधिकारी, सम्झना देवकोटा, सोमनाथ पोर्तेल, पुजा चौधरी र तुलप्रसाद विश्वकर्मा हुनुहुन्छ । समितिको एक सदस्य भने पछि थप गरिने जनाइएको छ ।
यस समितिलाई आगामी पुस मसान्तसम्मको कार्यसमयावधि दिइएको छ । आवश्यकताअनुसार प्रतिनिधिसभाले गठन गरेको समितिसँग समन्वय गरेर काम गर्न सक्ने अधिकार पनि समितिलाई प्रदान गरिएको छ । समितिले विपद् पूर्वतयारी, जनधनको क्षति, प्रभावितको खोजी तथा उद्धार, राहत वितरण, क्षतिपूर्ति, घाइतेको उपचार र पुनर्स्थापना जस्ता विषयमा विस्तृत अध्ययन गरी प्रतिवेदन बुझाउनेछ ।

