काठमाडौँ । आइसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज नेपाल र क्यानडाबीच प्रतिस्पर्धा हुँदैछ ।
ओमानस्थित अल अमेरात क्रिकेट मैदानमा हुने यस खेल नेपाली समयअनुसार बिहान ११ बजेर ४५ मिनेटमा सुरु हुनेछ । यसअघि सम्पन्न खेलमा ओमानले क्यानडामाथि विजय हासिल गरिसकेको छ ।
यस सिरिजका लागि नेपालले सन्दीप लामिछानेको नेतृत्वमा १५ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ । टोलीमा कप्तान लामिछानेसहित आसिफ शेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, बसिर अहमद, इशान पाण्डे र गुलशन झा रहेका छन् । त्यसैगरी टोलीमा शेर मल्ल, ललित राजवंशी, करण केसी, नन्दन यादव, साहब आलम र सन्दीप जोरा पनि समावेश छन् ।
प्रतियोगिताको तालिकाअनुसार नेपालले पहिलो खेल आज क्यानडासँग खेल्दैछ भने त्यसपछि अक्टोबर १३ मा ओमानविरुद्ध मैदान उत्रनेछ ।
यसैगरी नेपालले अक्टोबर १७ मा फेरि क्यानडासँग र अक्टोबर १९ मा ओमानसँग अन्तिम खेल खेल्नेछ । हाल ३२ खेल खेलेको नेपाल २४ अंक जोड्दै अंक तालिकाको सातौं स्थानमा रहेको छ ।

