काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएपछि दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतमा सुनुवाइ जारी रहेको छ । न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासमा उक्त मुद्दाको बहस भइरहेको हो ।
सुनुवाइका क्रममा निवेदक कार्कीका तर्फबाट कानुन व्यवसायीहरूले बहस पूरा गरिसकेका छन् । अदालतले कार्कीको पक्षलाई बहसका लागि डेढ घण्टाको समय उपलब्ध गराएको थियो ।
कार्की पक्षको बहस सकिएसँगै हाल महान्यायाधिवक्ताको कार्यालयका तर्फबाट सरकारी वकिलहरूले बहस गरिरहेका छन् । इजलासले सरकारी पक्षका लागि एक घण्टाको समय निर्धारण गरेको छ ।
महान्यायाधिवक्ताको कार्यालयको बहस सम्पन्न भएपछि नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीका कानुन व्यवसायीले आधा घण्टा बहस गर्नेछन् । त्यसपछि निवेदक पक्षले जवाफी बहस प्रस्तुत गर्ने र अदालतले आजै अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय सुनाउने तयारी गरेको छ ।
सरकारले गत कात्तिक १८ गते कार्कीलाई प्रहरी महानिरीक्षक पदबाट हटाएर सुरक्षा सल्लाहकारको जिम्मेवारी तोकेको थियो । सरकारको उक्त निर्णयप्रति असन्तुष्टि जनाउँदै कार्की सर्वोच्च अदालत पुगेका हुन् ।
आफूलाई गैरकानुनी रूपमा पदबाट हटाइएको दाबी गर्दै कार्कीले मनोज केसीलाई आईजीपी नियुक्त गर्ने सरकारी निर्णय बदर गर्न र आफूलाई साविककै पदमा पुनर्बहाली गर्न माग गरेका छन् ।

