काठमाडौँ । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज (आइतबार बस्दैछ) । सिंहदरबारमा दिउँसो १ बजे बस्ने गरी तय भएको यस बैठकका लागि संसद् सचिवालयले सम्भावित कार्यसूचीहरू सार्वजनिक गरेको छ ।
आजको बैठकमा विशेष गरी नियमावलीको प्रतिवेदन पारित गर्ने र महत्त्वपूर्ण विधेयक तथा महासन्धीहरू प्रस्तुत गर्ने तयारी छ । बैठकमा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले ‘प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३’ माथि दफावार छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव संसद्मा पेस गर्नुहुनेछ । उक्त प्रतिवेदनमाथि सांसदहरूबाट प्राप्त भएका संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिएपछि आजै सभापति पराजुलीले सो प्रतिवेदन पारित गरियोस् भन्ने प्रस्ताव समेत प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
यसैगरी, बैंकिङ क्षेत्रको नियामक निकायसँग सम्बन्धित कानुनी परिमार्जनका लागि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नेपाल राष्ट्र बैङ्क (तेस्रो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव राख्नुहुनेछ । अनुमति प्राप्त भएसँगै अर्थमन्त्री डा. वाग्लेले सो विधेयक संसद्मा टेबल गर्नुहुने कार्यसूची तय गरिएको छ ।
श्रम तथा रोजगार क्षेत्रसँग जोडिएका अन्तर्राष्ट्रिय प्रतिवद्धताहरूलाई पनि आजको बैठकमा अगाडि बढाइँदैछ । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले ‘अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धी, १९४७ (नं. ८१)’ बैठकमा पेस गर्नुहुनेछ । यसका साथै मन्त्री यादवले ‘अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धी, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नं. २९’ समेत संसद् समक्ष प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।

