काठमाडौँ । हालै सार्वजनिक भएको विवादास्पद अडियो प्रकरणबारे नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भिडियो सन्देशमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन् ।
उनले आफू कुनै पनि गलत तथा अनैतिक कार्यमा संलग्न नरहेको दाबी गर्दै आफ्ना हातहरू पूर्ण रूपमा सफा रहेको बताएका हुन् ।
प्रहरी हिरासतमा रहेका ‘फिक्सर’ इनम सापकोटासँग जोडिएको अडियो प्रकरणबारे बोल्दै थापाले पार्टीभित्रको आन्तरिक रूपान्तरण र आधिकारिकताको लडाइँ कार्यकर्ताको विद्रोह भएको उल्लेख गरे । यस राजनीतिक तथा कानुनी लडाइँमा कुनै पनि किसिमको आर्थिक लेनदेन वा अनुचित काम नभएको उनले स्पष्ट पारे ।
उक्त अडियो कसले, कहिले र कुन उद्देश्यले रेकर्ड गर्यो भन्नेबारे आफूलाई जानकारी नभएको बताउँदै थापाले प्रहरी हिरासतमा रहेका व्यक्तिसहित यस विषयमा निष्पक्ष अनुसन्धान हुनुपर्ने माग गरेका छन् । निष्पक्ष छानबिन भएमा सत्यतथ्य बाहिर आउने विश्वास उनले व्यक्त गरे ।

