कपिलवस्तु । धनगढीबाट संघीय राजधानी काठमाडौंतर्फ आउँदै गरेको एक यात्रुवाहक बस कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ गैडहवास्थित हुलाकी सडकखण्डमा दुर्घटनामा परेको छ ।
सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३७२१ नम्बरको शिवपुरी लक्जरी कोच प्रालिद्वारा सञ्चालित उक्त बस अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएर पल्टिएको हो ।
प्रहरीका अनुसार उक्त दुर्घटनामा चालकसहित २२ जना यात्रु घाइते भएका छन् । घाइतेहरूको टाउको, छाती, कम्मर, हातखुट्टा लगायत शरीरका विभिन्न भागमा चोट लागेको छ । दुर्घटनालगत्तै उद्धार गरिएका सबै घाइतेहरूलाई सुरुमा जिल्ला अस्पताल तौलिहवा पुर्याइएको थियो । त्यहाँ प्रारम्भिक उपचार गरेपछि उनीहरूलाई थप उपचारका लागि भैरहवास्थित मेडिकल कलेज पठाइएको छ ।
दुर्घटनाका समयमा बसमा चालकसहित कुल ४६ जना सवार रहेका थिए । तीमध्ये चोटपटक नलागेका २४ जना सुरक्षित यात्रुहरूलाई अर्को गाडीको व्यवस्था गरेर गन्तव्यतर्फ पठाइएको प्रहरीले जनाएको छ ।
घटनापश्चात् सडकमा पल्टिएको बसलाई क्रेनको सहयोगमा हटाएर अवरुद्ध बनेको सडक दुवैतर्फ सुचारु गरिएको छ । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाको मुख्य कारणबारे आवश्यक अनुसन्धान अघि बढाएको छ ।

