काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले नगरबासीसँग नम्रताका साथ संवाद गर्दै कानुन कार्यान्वयनमा भने दृढता अपनाउन महानगर प्रहरीलाई आग्रह गरेकी छन् ।
वसन्तपुरबाट सुरु भएको महानगर प्रहरी बलको सप्ताहव्यापी सचेतना कार्यक्रम ‘नमस्ते सेवा अभियान’ को उद्घाटन गर्दै उनले सो कुरा बताएकी हुन् । रुखो बोलीले नभई जिम्मेवारीप्रतिको इमानदारिताले मात्र सहरी व्यवस्थापन सम्भव हुने स्पष्ट पार्दै उनले नागरिकले अपनत्व महसुस गर्ने गरी काम गर्न निर्देशन दिइन् ।
कार्यक्रममा जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिलिप घिमिरेले यस अभियानले प्रहरीप्रतिको दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे । महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीका अनुसार यो अभियानको मुख्य उद्देश्य नागरिक र प्रहरीबीचको सम्बन्धलाई बलियो बनाउँदै सर्वसाधारणलाई उनीहरूको सहरी दायित्वबारे बुझाउनु हो । सम्पदा अभियन्ता गणपतिलाल श्रेष्ठले पनि यस नयाँ प्रयासको सराहना गरे ।
महानगर प्रहरीले हाल ट्राफिक व्यवस्थापन, फोहोर अनुगमन, सम्पदा संरक्षण र विपद् व्यवस्थापन जस्ता क्षेत्रमा काम गर्दै आएको छ र यस अभियान अन्तर्गत प्रहरीहरूले सडकमा नागरिकसँग प्रत्यक्ष र दोहोरो संवाद गर्नेछन् ।

