काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो महाधिवेशनबाट चयन भएका केन्द्रीय सदस्यहरूको नामावली परिवर्तन गरेको छ ।
निर्वाचनको अन्तिम मत परिणामलाई पुनः जाँच गर्दा प्राविधिक त्रुटि भेटिएपछि पार्टीले दुई जना केन्द्रीय सदस्यको नाम हेरफेर गर्दै नयाँ सूची सार्वजनिक गरेको हो ।
पार्टीको केन्द्रीय निर्वाचन आयोगका अनुसार आदिवासी जनजाति कोटातर्फ यसअघि केन्द्रीय सदस्यमा विजयी भनिएका कृष्णमान श्रेष्ठको स्थानमा अब ध्रुवकुमार थापामगर चयन हुनुभएको छ । यसैगरी प्रादेशिक भूगोलतर्फ गण्डकी प्रदेशबाट विजयी घोषणा गरिएका सोम शर्माको नाम हटाएर पूजा बास्तोलालाई निर्वाचित गरिएको छ ।
महाधिवेशन निर्वाचन कार्यविधि–२०८३ को प्रावधान अनुसार खसेको मत, उम्मेदवारहरूको मनोनयन पत्र र प्राप्त प्रमाणहरूको पुनः अध्ययन गर्दा अघिल्लो परिणाममा प्राविधिक कमजोरी भएको आयोगले स्पष्ट पारेको छ ।
पार्टीको महाधिवेशन सम्पन्न भएपछि कतिपय उम्मेदवारहरूले आफूले लोकप्रिय मत ल्याए पनि क्लस्टर (समावेशी समूह) व्यवस्थापनको अस्पष्टताका कारण अन्यायमा परेको भन्दै आयोगमा उजुरी दिएका थिए । उम्मेदवारहरूको सोही गुनासो र दाबी विरोधका आधारमा निर्वाचन आयोगले मत परिणामको विस्तृत छानबिन गरी नयाँ संशोधित सूची सार्वजनिक गरेको हो ।

