काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम ऐतिहासिक महाधिवेशनबाट चुनिएका नयाँ पदाधिकारी र केन्द्रीय सदस्यहरूले आजै पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।
पार्टीको केन्द्रीय निर्वाचन आयोगका अनुसार महाधिवेशन आयोजना भइरहेको उद्योग वाणिज्य सङ्घको हलमा आज साँझ साढे ६ बजे शपथ ग्रहण कार्यक्रमको समय तोकिएको छ ।
महाधिवेशनको पहिलो चरणको निर्वाचन प्रक्रियाबाट पार्टी सभापति र ९९ जना केन्द्रीय सदस्यहरू चुनिएका छन् । त्यसैगरी , दोस्रो चरणको प्रक्रियामा डा. स्वर्णिम वाग्ले उपसभापति पदमा निर्विरोध निर्वाचित भइसकेका छन् । बाँकी रहेका एक महिला उपसभापति, एक महामन्त्री र तीन सहमहामन्त्री पदका लागि भने अहिले मतदान भइरहेको छ । निर्वाचन आयोगका अनुसार यो मतदान कार्य आज साँझ साढे ४ बजेसम्म जारी रहनेछ ।
पार्टीको विधान अनुसार कुल १५८ सदस्यीय केन्द्रीय समितिमा ५१ जना सदस्यहरू सभापतिले मनोनीत गर्ने विशेष व्यवस्था रहेको छ । यसका साथै पदाधिकारीतर्फ पनि एक उपसभापति, एक महामन्त्री, दुई सहमहामन्त्री, एक प्रवक्ता र तीन सहप्रवक्ता पदमा सभापतिले नै उपयुक्त व्यक्तिहरू मनोनीत गर्ने वैधानिक नियम छ ।

