काठमाडौँ । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई अनुसन्धानका लागि थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको संयुक्त इजलासले सोमबार उक्त म्याद थप गर्ने निर्णय गरेको हो ।
यसअघि गत असार ८ गते सुर्खेतबाट पक्राउ परेका पौडेललाई अदालतले सात दिनको म्याद दिएको थियो । उक्त म्याद सोमबार सकिन लागेपछि प्रहरीले थप अनुसन्धानका लागि म्याद थपको माग गरेको थियो ।
यसैबीच, पौडेलको पक्राउ गैरकानुनी रहेको दाबी गर्दै सर्वोच्च अदालतमा दायर भएको बन्दीप्रत्यक्षीकरण रिटमाथि अदालतले लिखित जवाफ माग गरेको छ । यस रिटमाथि आगामी मंगलबार अर्को सुनुवाइ हुने तय भएको छ ।

