काठमाडौँ । नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) विश्व फुटबलको नियामक संस्था फिफाको गम्भीर कारबाहीमा परेको छ ।
फिफा काउन्सिल ब्युरोले आफ्नो विधानको धारा १६ लाई टेकेर एन्फाको सदस्यता तत्कालका लागि निलम्बन गर्ने निर्णय गरेको हो । नेपाली फुटबल प्रशासनमा बाह्य पक्ष वा सरकारी निकायको हस्तक्षेप बढेको ठहर गर्दै फिफाले यो कडा कदम चालेको हो ।
यस निर्णयसँगै एन्फाले विश्व फुटबलको सर्वोच्च निकायबाट पाउने सम्पूर्ण अधिकारहरू गुमाएको छ । अब नेपालका राष्ट्रिय टोली, क्लबहरू तथा खेल पदाधिकारीहरूले फिफा र एसियाली फुटबल महासंघ (एएफसी) द्वारा आयोजना गरिने कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता तथा कार्यक्रमहरूमा भाग लिन पाउने छैनन् । यसका साथै फिफाबाट एन्फाले प्राप्त गर्दै आएको नियमित आर्थिक अनुदान, प्राविधिक सहयोग र विभिन्न विकास निर्माणका परियोजनाहरू समेत पूर्ण रूपमा ठप्प भएका छन् ।
एन्फाको आसन्न निर्वाचनको तीव्र तयारी चलिरहेका बेला राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले एन्फामाथि प्रतिबन्ध लगाएपछि यो विवाद चुलिएको थियो । यद्यपि, राखेपले गत जेठ १ गते नै एन्फाको निलम्बन फुकुवा गरिसकेको भए पनि फिफाले तोकेको समयसीमा भित्र फुटबल संघलाई स्वतन्त्र रूपमा काम गर्ने वातावरण नबनाइएको भन्दै फिफाले अन्ततः निलम्बनको निर्णय सुनाएको हो ।

