काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सले आफ्नो उत्कृष्ट प्रदर्शन जारी राख्दै जनकपुर बोल्ट्समाथि १६ रनको रोमाञ्चक जित दर्ता गरेको छ ।
जितका लागि पाएको १५० रनको मध्यम लक्ष्य पछ्याउने क्रममा जनकपुर निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३३ रनमा समेटियो ।
जनकपुरका लागि कप्तान हरमित सिंहले सर्वाधिक ३३, सैफ हसनले २८ र आदित्य महताले २४ रनको योगदान दिए पनि टोलीलाई जितसम्म पुर्याउन सकेनन् । लुम्बिनीका डिआर्ची शर्टले कसिलो बलिङ गर्दै ३ विकेट चट्काए भने तिलक भण्डारी र शेर मल्लले समान २–२ विकेट तथा रुबेन ट्रम्पेलम्यानले १ विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले २० ओभरमा ८ विकेट गुमाउँदै १४९ रनको योगफल तयार पारेको थियो । टोलीको पाली सम्हाल्दै कप्तान रोहित पौडेलले ३४ र निरोशन डिकवेलाले २७ रन जोडे । यस्तै दिलिप नाथले २५, आसिफ सेखले २१ र रुबेन ट्रम्पेलम्यानले १५ रन बनाए । जनकपुरका बलर राहुल यादव र बिशाल शुस्लिङले २–२ तथा ललित राजवंशी, हरमित सिंह र अभिषेक तिवारीले १–१ विकेट लिएका थिए ।
यो सफलतासँगै ४ खेलमा ७ अंक जोड्दै लुम्बिनी लायन्स तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । पराजित जनकपुरको भने ५ खेलमा यो तेस्रो हार हो र ४ अंकसहित तालिकाको तल्लो स्थानतिर धकेलिएको छ ।

