काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई महत्त्वपूर्ण खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पहिलो प्रतिस्पर्धामा तालिकाको शीर्ष स्थानमा रहेको लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स आमने-सामने हुँदैछन् ।
अपराजित यात्रा कायम राखेको लुम्बिनी लायन्स ३ खेलबाट २ जित र १ अंक बाँड्दै ५ अंकका साथ तालिकाको पहिलो स्थानमा छ । अर्कातिर ४ खेलबाट २ जित र २ हारको नतिजासहित ४ अंक जोडेको जनकपुर बोल्ट्स चौथो स्थानमा रहेर मैदान उत्रँदैछ ।
यसैगरी साँझ हुने दोस्रो खेलमा विराटनगर किंग्स र काठमाडौँ गोर्खाज भिड्नेछन् । जारी प्रतियोगितामा ४ खेलबाट समान २ जित र २ हार व्यहोरेको विराटनगर किंग्स तालिकाको दोस्रो स्थानमा छ भने २ खेलमा १ जित र १ हारसहित २ अंक जोडेको काठमाडौँ गोर्खाज सातौँ स्थानमा सीमित छ ।

