कैलाली । दुई दिनदेखि बेपत्ता भएका कैलालीका एक नाबालक जङ्गलमा मृत फेला परेका छन् । धनगढी उपमहानगरपालिका-१७ धुर्जन्ना बस्ने १० वर्षीय चनोज चौधरी कालिका सामुदायिक वनमा मृत अवस्थामा फेला परेका हुन् ।
यही असार १० गते साँझ ५ बजेतिर घरबाटै अचानक गायब भएका चौधरी भोलिपल्टसम्म फेला नपरेपछि परिवारले असार ११ गते मात्रै प्रहरीलाई खबर गरेका थिए । खोजी गर्ने क्रममा असार १२ गते दिउँसो करिब ३ बजे आफन्त र संयुक्त प्रहरी टोलीले बालकको शव स्थानीय वनभित्र फेला पारेको हो ।
यस दुःखद घटनाको रहस्य सुल्झाउनका लागि प्रहरीले शङ्कास्पद चार जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका व्यक्तिहरूसँग सोधपुछ गर्दै घटनाको गम्भीर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

