काठमाडौँ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएका नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
विशेष अदालतका सदस्य न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको संयुक्त इजलासले बिहीबार पौडेलविरुद्ध तेस्रोपटक म्याद थपको आदेश जारी गरेको हो ।
पार्टीको एउटा कार्यक्रममा सहभागी हुन सुर्खेत पुगेका पौडेललाई गत असार ८ गते सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा प्रहरीले नियन्त्रणमा लिएको थियो । उनको सेयर कारोबार तथा सम्पत्तिको स्रोत शंकास्पद देखिएको भन्दै विभागले अनुसन्धान प्रक्रिया अघि बढाएको हो । यसअघि विशेष अदालतले उनलाई सुरुमा सात दिन र दोस्रोपटक असार १५ गते तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।
पछिल्लोपटक थपिएको म्याद सकिएपछि अनुसन्धान नसकिएको भन्दै विभागले पुनः समय मागेकाले अदालतले यो नयाँ अनुमति दिएको हो ।

