डोल्पा । अविरल वर्षाका कारण आएको लेदोसहितको बाढीले डोल्पाको जगदुल्ला गाउँपालिकामा एक जनाको ज्यान लिएको छ भने ६ जना घाइते भएका छन् ।
गएराति जगदुल्ला गाउँपालिका–५ गैरीगाउँमा धुलाखोला र आसपासका खोल्साबाट ढुङ्गा, माटो र हिलो मिश्रित बाढी गाउँमा पसेको हो ।
डोल्पाका प्रहरी नायव उपरीक्षक (डीएसपी) अनिलराज गिरीका अनुसार बाढीमा परी घाइते भएकी स्थानीय ५६ वर्षीया आनन्दी विकलाई उद्धार गरेर स्वास्थ्य चौकी लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । बाढीका कारण घाइते भएका अन्य ६ जनाको भने झ्याकोट स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते हुनेहरूमा ५० वर्षीया चाउरी विक, ४४ वर्षीया रेउली विक, ४८ वर्षीय विष्णु विक, १५ वर्षीया निरुता विक, १३ वर्षीया सीता विक र ६५ वर्षीय जस विक रहेका छन् ।
बाढीको प्रत्यक्षदर्शी समेत रहेका घाइते विष्णु विकका अनुसार बाढीले उनलाई झण्डै १५–१६ मिटरसम्म बगाएको थियो । जसका कारण उनको ढाड, टाउको र शरीरका अन्य भागमा चोट लागेको छ ।
बाढीले मानवीय क्षतिका साथै गाउँमा ठूलो भौतिक क्षति पुर्याएको छ । डीएसपी गिरीका अनुसार प्रारम्भिक विवरणमा एक स्थानीय सहकारी भवन, खाद्य गोदाम र ७–८ वटा घरमा क्षति पुगेको देखिएको छ । त्यसमध्ये एउटा घर पूर्ण रूपमा ध्वस्त भएको छ । घटनाको विस्तृत विवरण सङ्कलन गर्ने काम भइरहेको प्रहरीले उल्लेख गरेको छ ।
बाढी आएको जानकारी पाउनासाथ प्रहरी चौकी माझगाउँबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको टोलीले स्थानीय नागरिकको समन्वयमा उद्धार कार्य गरेको थियो ।

