काठमाडौँ । परराष्ट्र मन्त्रालयले सर्वसाधारणलाई अझ सहज र छिटो राहदानी उपलब्ध गराउन आगामी असार २९ गतेदेखि नयाँ प्राविधिक प्रणाली कार्यान्वयनमा ल्याउने भएको छ ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले राहदानी वितरण कार्यलाई आधुनिक र प्रविधिमैत्री बनाउन नयाँ प्रणाली सुरु गर्न लागिएको जानकारी दिनुभयो । मन्त्रालय र राहदानी विभागले यसको सम्पूर्ण तयारी पूरा गरिसकेका छन् । सुरुवाती चरणमा केही सामान्य प्राविधिक समस्या आए पनि सेवा प्रवाहमा कुनै अवरोध नहुने र यो नियमित रूपमा सुचारु रहने मन्त्रालयले प्रष्ट पारेको छ ।
सरकारले राहदानी सेवालाई व्यवस्थित बनाउन अन्य दुई महत्त्वपूर्ण कदम पनि चालेको छ । तयारी भइसकेका राहदानीहरू छिटोभन्दा छिटो सम्बन्धित जिल्ला तथा इलाका प्रशासन कार्यालयमा पुर्याउन हुलाक विभागसँग सम्झौता भइसकेको छ ।
यसैगरी, नागरिकले आफ्नो स्थायी ठेगाना जहाँ भए पनि आफूलाई पायक पर्ने जुनसुकै जिल्ला वा इलाका प्रशासन कार्यालयबाट राहदानीका लागि आवेदन दिन सक्ने गरी नयाँ व्यवस्थाको प्रक्रिया अघि बढाइएको छ । यस कदमबाट सेवाग्राहीले आफ्नै पायक पर्ने स्थानबाट सहजै सेवा पाउने विश्वास सरकारले लिएको छ ।

