काठमाडौँ । इन्धनको अन्तर्राष्ट्रिय बजारमा निरन्तर मूल्यवृद्धि भइरहेको जनाउँदै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य बढाएको छ ।
सोमबारदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्यमा वृद्धि गरेको हो ।
नयाँ मूल्य समायोजनअनुसार पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँ वृद्धि गरिएको छ । यससँगै काठमाडौँ उपत्यकामा पेट्रोल, डिजेल र मट्टितेल तीनै वटा इन्धनको मूल्य प्रतिलिटर २०० रुपैयाँ पुगेको छ ।
यस्तै, आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर २० रुपैयाँले बढाइएको छ भने अन्तर्राष्ट्रिय उडानतर्फ काठमाडौँमा प्रतिकिलोलिटर १३१ अमेरिकी डलर वृद्धि गरिएको छ । पोखरा र भैरहवाका लागि भने अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य लागत बराबर (ब्रेकइभेन) कायम गरिएको निगमले जनाएको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ ।
भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार इन्धनको लागत अत्यधिक बढेर आएको निगमको भनाइ छ । पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ १७ पैसा, डिजेलमा ४१ रुपैयाँ ७६ पैसा र हवाई इन्धनमा १९ रुपैयाँ १० पैसा लागत बढेर आए तापनि उपभोक्ताको हितलाई ध्यानमा राखेर पूर्ण रूपमा मूल्य नबढाइएको निगमले स्पष्ट पारेको छ । यस मूल्य समायोजनपछि पनि निगमलाई १५ दिनमा करिब १ अर्ब ४४ करोड रुपैयाँ घाटा हुने अनुमान छ ।
अन्तर्राष्ट्रिय बजारको दबाबलाई हेर्दै निगमले उपभोक्तालाई इन्धनको प्रयोगमा मितव्ययिता अपनाउन आग्रह गरेको छ ।

