काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा बागमती र गण्डकी प्रदेशका केही स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।
मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ सरेर नेपालको तराई भूभाग नजिक आइपुगेकाले मौसम प्रभावित बनेको हो ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार दिनभर देशभर साधारणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका थोरै स्थानमा तथा सुदूरपश्चिमका एक-दुई स्थानमा वर्षा भइरहेको छ । हिमाली भूभागका केही स्थानमा मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना छ भने पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको आकलन गरिएको छ ।
बागमती र गण्डकीका तराई भूभागका धेरै स्थान तथा मधेससहित कोशी, लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागमा चट्याङ्गसहित वर्षा हुनेछ । महाशाखाले कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भूभागमा भारी वर्षाको सम्भावना औँल्याएको छ । बागमती र गण्डकीका पहाडी भूभागका एक-दुई स्थानमा भने धेरै भारी वर्षा हुनसक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

