चितवन । मुग्लिन–नारायणगढ सडकखण्डका विभिन्न ठाउँमा पहिरो र लेदो खस्दा सवारी साधनको आवतजावत प्रभावित भएको छ ।
लगातार परिरहेको पानीका कारण सडकमा माथिबाट ढुंगा र लेदो खसेपछि हाल यो सडकखण्ड एकतर्फी मात्र सञ्चालन भइरहेको छ ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार तुइन खोला पुल र नाम्सी खोलाको नयाँ पुल नजिकै ठूला ढुंगा खसेका छन् भने सिमलताल आसपासको क्षेत्रमा लेदो थुप्रिएको छ । पहिरो र लेदो हटाएर सडकलाई पूर्ण रूपमा सुचारु गराउनका लागि डोजर लगायतका उपकरणहरू परिचालन भइसकेका छन् ।
थप पहिरो नझरेमा करिब एक घण्टाभित्रै दुवैतर्फी यातायात खुलाउने तयारी भइरहेको छ । वर्षा कायमै रहेकाले सो क्षेत्रमा पहिरोको जोखिम अझै छ । यसैलाई ध्यानमा राख्दै सडक डिभिजनले यात्रामा निस्कनुअघि बाटोको अवस्था बुझ्न र सावधानीपूर्वक सवारी चलाउन सबैलाई आग्रह गरेको छ ।

