काठमाडौँ । आज सङ्घीय संसदका पाँच विषयगत समितिको बैठक बस्दैछ ।
प्रतिनिधि सभा अन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान साढे ९ बजे तय गरिएको छ । उक्त बैठकमा कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा गठित मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन प्राविधिक कार्यदलले तयार पारेको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ ।
त्यस्तै, प्रतिनिधि सभाकै पूर्वाधार विकास समितिको बैठक बिहान १० बजे बस्दैछ । बैठकमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) र ऊर्जा क्षेत्रका उत्पादकहरूले भोग्नुपरेका समस्याबारे छलफल हुनेछ ।
राष्ट्रिय सभातर्फ विधायन व्यवस्थापन समितिको बैठक बिहान साढे ११ बजेका लागि बोलाइएको छ । राष्ट्रिय सभाकै सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान साढे १० बजे बस्नेछ, जसमा मदन पुरस्कार गुठीको स्थलगत अवलोकनका सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ ।
यसैगरी, बिहान ११ बजे बस्ने राष्ट्रिय सभा अन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा सरकारबाट नियुक्त हुने विभिन्न निकायका पदाधिकारीहरूमा समावेशी तथा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्ने विषयमा छलफल गरिने समितिले जनाएको छ ।

