काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आज सकिँदै छ ।
सुकेधारास्थित मिराकल पार्टी भेन्युमा गत शुक्रबारदेखि सुरु भएको भेलाअन्तर्गत शनिबार बन्दसत्र सम्पन्न भएको थियो । उक्त बन्दसत्रमा पार्टीको राजनीतिक, आर्थिक, सदस्यता र सङ्गठनात्मक संरचनासम्बन्धी महत्त्वपूर्ण प्रतिवेदनहरू प्रस्तुत गरिएका थिए । भेलामा नेताहरू विमलेन्द्र निधि, पूर्वअर्थमन्त्री प्रकाशशरण महत, उमाकान्त चौधरी, रमेश लेखक, एनपी साउद र मीन विश्वकर्माले आ-आफ्नो प्रतिवेदन पेस गरेका हुन् ।
प्रस्तुत राजनीतिक प्रस्तावमा विशेष महाधिवेशन विधानविपरीत भएको र यसैका कारण पार्टी कमजोर बनेको दाबी गरिएको छ । २०७९ को निर्वाचनमा ८८ सिट जितेको कांग्रेस अहिले ३८ सिटमा सीमित हुनुमा यही निर्णय कारक रहेको प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै, पूर्वअर्थमन्त्री प्रकाशशरण महतले निजी क्षेत्रका लागि लगानीमैत्री वातावरण बनाउनुपर्ने, कानुनी प्रक्रिया सरल बनाइनुपर्ने र आयोजनाको सम्भावनाका आधारमा कर्जा उपलब्ध गराउने गरी आर्थिक नीति परिमार्जन गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् ।
नेता रमेश लेखकले पार्टीको सदस्यता वितरण, नवीकरण र अभिलेख व्यवस्थापनलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा लैजानुपर्ने सुझाव दिएका छन् । साथै, ३० वर्षमुनिका युवालाई पार्टीका सबै तहमा अवसर दिनुपर्ने र महिला तथा युवाको सहभागिता व्यापक बनाउनुपर्नेमा उनले जोड दिएका छन् ।
भेलामा पार्टी संरचनामा सुधार गर्दै विभिन्न तहमा पदाधिकारी सङ्ख्या थप्ने, केन्द्रीय समितिमा विज्ञहरूको सहभागिता बढाउने र महिलाको सम्मानजनक प्रतिनिधित्व सुनिश्चित गर्ने प्रस्ताव प्रस्तुत गरिएको छ । भविष्यमा विशेष महाधिवेशनसम्बन्धी विवाद पुनः नदोहोरियोस् भन्नका लागि विधानमा नै स्पष्ट कार्यविधि बनाउनुपर्ने मागसमेत गरिएको छ ।

