काठमाडौँ । अस्ट्रेलियामा जारी टप एन्ड टी-२० सिरिज अन्तर्गत नेपाल ‘ए’ टोलीले आज आफ्नो तेस्रो प्रतिस्पर्धामा होबर्ट हुरिक्यान्स एकेडेमीको सामना गर्दैछ । नेपाली समय अनुसार दिउँसो ३:१५ बजे सुरु हुने यस खेलमा टोली पहिलो जितको खोजीमा मैदान उत्रिनेछ ।
यसअघिका दुवै खेलमा नेपाल ‘ए’ को प्रदर्शन निराशाजनक रहेको थियो । टोली पहिलो खेलमा आयोजक एनटी स्ट्राइक Relying 8 विकेट र दोस्रो खेलमा बङ्गलादेश एचपीसँग ९ विकेटको फराकिलो अन्तरले पराजित भएको थियो ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले डार्विनमा भइरहेको यो प्रतियोगिताका साथै दक्षिण अस्ट्रेलिया, तास्मानिया र न्युजिल्यान्ड ‘ए’ विरुद्धका मैत्रीपूर्ण खेलहरूका लागि अनिलकुमार साहको कप्तानीमा १५ सदस्यीय टोली अस्ट्रेलिया पठाएको हो । टोलीमा कप्तान साहका साथै त्रितराज दास, मयन यादव, कुशल भुर्तेल, पवन सर्राफ, दीपक डुम्रे, कुशल मल्ल, लोकेश बम, रसिद खान, नारायण जोशी, आकाश चन्द, साहब आलम, विपिन खत्री, युवराज खत्री र रिजन ढकाल समावेश छन् ।
एनटी स्ट्राइकको आयोजनामा अगस्ट ३० सम्म चल्ने यस प्रतियोगितामा नेपाल ‘ए’ ले अझै तीन खेल खेल्न बाँकी छ । तालिका अनुसार नेपालले अगस्ट २६ मा एसीटी कमेट्स, अगस्ट २७ मा किङ्सम्यान र अगस्ट २९ मा भिक्टोरियासँग प्रतिस्पर्धा गर्नेछ ।

