काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीमा भएको अनियमितताका विषयमा आफूले व्यक्त गरेको धारणामा दृढ रहेको बताएका छन् ।
बिहीबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले प्रहरी संगठनभित्र स्रोत र साधन व्यवस्थापनका क्रममा भएका अनियमितताबारे छानबिन हुनुपर्ने अडान दोहोर्याएका हुन् । १५ दिनभित्र माग गरिएका कागजात उपलब्ध गराउनुपर्ने विषय उल्लेख गर्दै उनले यसै अवधिमा थप टेन्डर आह्वान गरिएको प्रति असन्तुष्टि जनाए । सांसद सुनारले कुनै पनि पक्षले समितिमा आएर अमर्यादित व्यवहार गर्न नपाउने र आफूले उठाएका प्रश्नमा कानुनी चुनौती सामना गर्न तयार रहेको स्पष्ट पारे ।
यसअघि लेखा समितिमै उनले प्रहरीका लागि लत्ताकपडा खरिद गर्दा अनियमितता भएको आरोप लगाउँदै उच्च अधिकारीहरूमाथि छानबिनको माग गरेपछि यो विषय चर्चामा आएको थियो ।

