काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै पीडितको राहत तथा पुनःस्थापनाका लागि तत्काल पाँच करोड रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको छ ।
संघले बाढीका कारण ज्यान गुमाएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । साथै, घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरिएको छ ।
राहत तथा उद्धार कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन अध्यक्ष डा. हेमराज शर्माको संयोजकत्वमा मूल समिति गठन गरिएको छ । यसका साथै आर्थिक सहयोग संकलन, स्वयंसेवक परिचालन र विभिन्न देशमा रहेका राष्ट्रिय समन्वय परिषद्हरूलाई परिचालन गर्न छुट्टाछुट्टै समितिहरू बनाउने निर्णय भएको छ ।
एनआरएनएका अनुसार प्रभावित क्षेत्रमा आवश्यक चिकित्सकीय टोली र स्वयंसेवकहरू तुरुन्तै खटाइनेछ । विपद्को यस घडीमा नेपाल सरकार तथा स्थानीय निकायहरूसँग पूर्ण समन्वय गर्दै उद्धार, राहत र पुनःस्थापनामा हातेमालो गर्न संघ प्रतिबद्ध छ । संघले विश्वभर रहेका आफ्ना पदाधिकारी तथा सदस्यहरूलाई राहत अभियानमा सक्रिय रूपमा जुट्न आह्वानसमेत गरेको छ ।

