काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठसमक्ष लोपोन्मुख राउटे समुदायका प्रतिनिधिहरूले भेट गरी आफ्नो परम्परागत जीवनशैली र मौलिक पहिचान जोगाउन विशेष व्यवस्था गर्न माग गरेका छन् ।
सोमबार भएको उक्त भेटमा समुदायका प्रतिनिधिहरूले परम्परागत सीप, कला, भाषा र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि राज्यको ठोस पहल आवश्यक रहेको बताए । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक मन्त्री सीता वादीसमेत सहभागी उक्त छलफलमा राउटे समुदायको परम्परागत काष्ठकला तथा हस्तकलाको प्रवर्द्धन, सामाजिक सुरक्षा र दिगो आयआर्जनका अवसर सिर्जना गर्नुपर्ने विषय प्रमुखताका साथ उठाइएको थियो ।
छलफलका क्रममा कार्यवाहक प्रधानमन्त्री श्रेष्ठले राउटे समुदायको मौलिक पहिचान र परम्परागत सीपको संरक्षण गर्नु राज्यको दायित्व भएको स्पष्ट पारे । सरकार यस विषयमा सकारात्मक रहेको उल्लेख गर्दै उनले स्थानीय तह र सम्बन्धित निकायसँग समन्वय गरेर समुदायको सीपलाई आयआर्जनसँग जोड्नुपर्ने तथा भाषा, कला र संस्कृतिको जगेर्ना गर्नुपर्ने धारणा राखे ।
सोही अवसरमा कार्यवाहक प्रधानमन्त्री श्रेष्ठले राउटे समुदायको हितका लागि आवश्यक समन्वय र व्यवस्था मिलाउन मन्त्री वादीलाई निर्देशनसमेत दिएका छन् ।

