काठमाडौँ । अमेरिका र डेनमार्कबीच ग्रिनल्यान्डको सुरक्षा व्यवस्थालाई लिएर एक नयाँ सहमति कायम भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्ड नियन्त्रणमा लिने चेतावनी दिएपछि सिर्जित कूटनीतिक तनावका बिच यो नयाँ द्विपक्षीय समझदारी बनेको हो ।
उक्त सहमतिले अमेरिकालाई ग्रिनल्यान्डको सुरक्षा प्रणाली तथा अन्य आवश्यक क्षेत्रमा स्थायी पहुँच र नियन्त्रणको अधिकार दिने राष्ट्रपति ट्रम्पको भनाइ छ । यता डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेडरिक्सेनले भने यो सम्झौताले आर्कटिक र उत्तर एट्लान्टिक क्षेत्रको सुरक्षालाई थप सुदृढ बनाउने स्पष्ट पारेकी छन् । यस कदमबाट डेनमार्कको सार्वभौमसत्ता र ग्रिनल्यान्डका जनताको आत्मनिर्णयको अधिकार पूर्ण रूपमा सुरक्षित रहने उनले बताइन् ।
सहमतिअनुसार रुस र चीनजस्ता गैरनाटो राष्ट्रहरूलाई ग्रिनल्यान्डमा सैन्य अखडा स्थापना गर्न वा संवेदनशील पूर्वाधारमा लगानी गर्न पूर्ण प्रतिबन्ध लगाइनेछ । अमेरिकाले भने ग्रिनल्यान्डमा थप सैन्य संरचना निर्माण गर्ने, स्थायी रूपमा उपस्थिति बढाउने तथा हवाई उडान अधिकार प्राप्त गर्ने बताइएको छ ।
हालसम्म यस सम्झौताको पूर्ण विवरण भने सार्वजनिक भइसकेको छैन । आउँदो साता संयुक्त राष्ट्रसंघको महासभाका क्रममा यसमा औपचारिक हस्ताक्षर गर्ने तयारी भइरहेको छ ।

