काठमाडौँ । उपत्यकाका बौद्ध धर्मावलम्बीहरूले एक महिनासम्म मनाउने ऐतिहासिक तथा सांस्कृतिक गुँला पर्व शनिबार विधिवत् रूपमा समापन हुँदैछ ।
नेपाल संवत् अनुसार गुँलाथ्व पारुदेखि सुरु भई ञलाथ्व पारुसम्म चल्ने यो पर्व साउन शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म विशेष श्रद्धाका साथ मनाउने गरिन्छ ।
वर्षभरि दिवंगत भएका आफन्तहरूको सद्गति र सुखावती भुवन (वैकुण्ठ) मा वास होस् भन्ने कामनासहित यो अवधिमा आफन्तहरूले दैनिक रूपमा नजिकैका बौद्ध विहार, गुम्बा र चैत्यहरूको परिक्रमा गर्दछन् । विशेष गरी काठमाडौँका नेवार समुदायले बिहानै स्नान गरी चोखो भएर धाः, म्वाहाली, नेकू जस्ता परम्परागत बाजाहरू बजाउँदै स्वयम्भू महाचैत्यको परिक्रमा गर्ने गर्छन् । लिच्छविकालीन राजा हर्षदेवको शासनकाल (नेपाल संवत् २०४–२१८) देखि गुंला बाजं खलः स्वयम्भू जाने परम्परा सुरु भएको इतिहास छ ।
काठमाडौँका साथै उपत्यकाका अन्य क्षेत्र र बाहिर पनि यो पर्व फरक-फरक शैलीमा मनाइन्छ । मध्यपुर थिमीमा अर्नाको सिङबाट बनेको ‘न्याकुबाजा’ र भेडाको सिङबाट बनेको ‘चित बाजा’ बजाउने विशेष चलन छ भने इटुम्बहालमा दीपङ्कर बुद्ध र केशचन्द्र आजुको मूर्ति विराजमान गराइन्छ । उपत्यकाबाहिर दोलखामा भने यसलाई ‘हिलो जात्रा’का रूपमा श्रीकृष्ण जन्माष्टमीसम्म मनाइन्छ ।
पर्वको अवधिभर मासु, अण्डा, लसुन र प्याज जस्ता खाद्यवस्तु त्याग गरी पूर्ण रूपमा सात्विक र शुद्ध रहेर पूजाआजा गर्ने धार्मिक परम्परा छ ।

