काठमाडौँ । नेपाल लेयर्स कुखुरापालक संघले अन्डाको समर्थन मूल्यमा पुन: वृद्धि गरेको छ । संघको भदौ १८ गते बसेको बैठकले किसानहरूको राय तथा सिफारिसका आधारमा शुक्रबारदेखि लागू हुने गरी नयाँ मूल्य तोकेको हो ।
नयाँ दरअनुसार एक्सएल आकारको अन्डाको मूल्य प्रतिक्रेट ६०५ रुपैयाँ, ठूलो अन्डाको ५९० रुपैयाँ र मिडियम अन्डाको ५५० रुपैयाँ कायम गरिएको छ। सानो अन्डाको मूल्य भने प्रतिपेटी ३ हजार २ सय रुपैयाँ नै यथावत राखिएको छ ।
यसअघि भदौ ४ गते तोकिएको मूल्यको तुलनामा एक्सएल, ठूलो र मिडियम अन्डामा प्रतिक्रेट १५ रुपैयाँले वृद्धि भएको छ ।
संघले उपभोक्ताका लागि ठूलो अन्डा प्रतिगोटा २५ रुपैयाँ र मिडियम अन्डा दुई वटाको ४५ रुपैयाँ तोक्दै व्यवसायीहरूलाई सोहीअनुसार कारोबार गर्न अनुरोध गरेको छ ।

