काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गरेको २३ औं संस्करणको पल्सर स्पोर्ट्स अवार्ड २०८२ मा करातेकी एरिका गुरुङ र बक्सिङका चन्द्रबहादुर थापा मगर वर्षका उत्कृष्ट खेलाडी घोषित भएका छन् ।
भृकुटीमण्डपस्थित एनपीसीको ब्लू पभेलियन हलमा बिहीबार आयोजित विशेष समारोहमा एरिकाले लगातार तेस्रो पटक महिलातर्फको अवार्ड आफ्नो नाममा पारिन् भने चन्द्रबहादुर पुरुषतर्फ वर्ष खेलाडी बने ।
अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा उत्कृष्ट प्रदर्शन गर्दै रजत र स्वर्णसहित आधा दर्जन पदक जितेकी एरिकाले सन्तोषी श्रेष्ठ, सानुमाया थिङ, सविना श्रेष्ठ र सावित्रा भण्डारीलाई पछि पारिन् । यता आइबा विश्व च्याम्पियनसिपमा कांस्य पदक जितेर इतिहास रचेका चन्द्रबहादुरले दीपेन्द्रसिंह ऐरी, सोमबहादुर कुमाल, प्रदीप बैजाली मगर र सदभाव आचार्यलाई पछाडि पार्दै अवार्ड हात पारे । चन्द्र एसियाडको तयारीका लागि भारतमा रहेकाले उनका दाजु भूपेन्द्र थापाले अवार्ड ग्रहण गरेका थिए ।
यसपटकको अवार्डमा करातेको वर्चस्व स्पष्ट देखियो । युवा विधामा करातेकी मनीषाकुमारी बोहरा र उत्कृष्ट प्रशिक्षकमा करातेकै कुशल श्रेष्ठ विजयी भए । कुशलले दोस्रो पटक यो अवार्ड चुमेका हुन् । त्यसैगरी, लामो समयदेखि कराते खेलाडी उत्पादनमा योगदान पुर्याउँदै आएका ध्रुवविक्रम मल्ललाई स्पेसल अवार्डबाट सम्मान गरियो ।
ई-सेवा तथा डिजिटल माध्यम र समर्थकको मतका आधारमा प्रदान गरिने पिपल्स च्वाइस अवार्ड भलिबलकी मीना सुनारले जितेकी छन् । उनले सर्वाधिक २९.४ प्रतिशत मत प्राप्त गर्दै एमएमए फाइटर रवीन्द्र ढाँट र करातेकी सानुमाया थिङलाई पछाडि पारिन् । दृष्टिविहीन महिला क्रिकेट टोलीलाई ऐतिहासिक सफलता दिलाउन मद्दत गरेकी सुष्मा तामाङलाई पारा एथलिट सम्मान प्रदान गरियो ।
८३ वर्षीय पूर्वखेलाडी कुमार मोहनबहादुर शाहीलाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट सम्मान गरिएको छ भने भारतीय खेलपत्रकार सवा नायकनले ‘एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड’ प्राप्त गरे । मुख्य विधाका विजेताहरूलाई ट्रफीसहित पल्सर मोटरसाइकल प्रदान गरिएको थियो ।

