काठमाडौँ । मलेसियामा सञ्चालन भइरहेको एसीसी प्रिमियर कपअन्तर्गत पहिलो सेमिफाइनल समीकरण पूरा भएको छ । प्रतियोगिताको फाइनल प्रवेशका लागि आज नेपाली राष्ट्रिय टोलीले ओमानको सामना गर्दैछ ।
क्वालालम्पुरस्थित क्रिकेट मैदानमा हुने यो महत्त्वपूर्ण भिडन्त नेपाली समयअनुसार बिहान ७:१५ बजेबाट सुरु हुनेछ । समूह चरणका खेलहरू समाप्त हुँदै गर्दा नेपाल उत्कृष्ट प्रदर्शनका साथ समूह ‘ए’ को विजेता बनेर अन्तिम चारमा पुगेको हो ।
नेपालले समूह चरणका प्रारम्भिक खेलहरूमा बहराइन, आयोजक मलेसिया र साउदी अरेबियालाई पराजित गरेको थियो । यद्यपि, समूहको अन्तिम खेलमा भने नेपाल हङकङ चाइनासँग पराजित हुन पुग्यो । यस समूहबाट हङकङ चाइना उपविजेता बन्दै सेमिफाइनल प्रवेश गर्न सफल भएको छ ।
अर्कोतर्फ समूह ‘बी’ बाट युएई शीर्ष स्थानमा रहँदै सेमिफाइनल पुगेको छ भने ओमान उपविजेताका रूपमा अन्तिम चारमा छानिएको छ । आजै हुने दोस्रो सेमिफाइनलमा हङकङ चाइना र युएई आमनेसामने हुनेछन् । प्रतियोगिताको उपाधि भिडन्त आउँदो शनिबारका लागि तय गरिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले यस पटक सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय बलियो टोली मलेसिया पठाएको छ । टोलीमा कप्तान सन्दीपसहित आसिफ शेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, बसिर अहमद, इशान पाण्डे, गुल्सन झा, शेर मल्ल, ललित राजवंशी, करण केसी, हेमन्त धामी र सन्दीप जोरा समावेश छन् ।

