काठमाडौँ । मलेसियामा सञ्चालन भइरहेको एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा आज नेपालले हङकङ चाइनाको सामना गर्दैछ । क्वालालम्पुरस्थित क्रिकेट मैदानमा नेपाली समय अनुसार बिहान ७: १५ बजेबाट खेल सुरु हुनेछ ।
नेपालले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै यसअघिका तीनै खेलमा जित हात पारिसकेको छ । बहराइन, मलेसिया र साउदी अरेबियालाई पराजित गर्दै नेपालले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ । अर्कोतर्फ, हङकङ चाइनाले तीन खेलमध्ये दुईमा जित र एकमा हार व्यहोरेको छ । साउदी अरेबिया र मलेसियालाई हराएको हङकङ बहराइनसँग भने पराजित भएको थियो । सेमिफाइनलमा प्रवेश गर्ने सम्भावना जीवितै राख्न हङकङका लागि आजको खेल जित्नैपर्ने दबाब छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको नेतृत्वमा १४ सदस्यीय टोली मलेसिया पठाएको हो । नेपाली टोलीमा कप्तान सन्दीपसहित आसिफ शेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दिपेन्द्र सिंह ऐरी, बसिर अहमद, इशान पाण्डे, गुलशन झा, शेर मल्ल, ललित राजवंशी, करण केसी, हेमन्त धामी र सन्दीप जोरा रहेका छन् ।

