मोरङ । कानेपोखरी गाउँपालिकास्थित बिनाअनुमति सञ्चालित एक बालगृहबाट १४ जना बालबालिकालाई सुरक्षित स्थानमा सारिएको छ ।
सरकारी तथा बालअधिकार सम्बद्ध निकायहरूको संयुक्त अनुगमनका क्रममा पाँच बालक र नौ बालिकाको उद्धार गरिएको हो । उद्धारपश्चात् ती बालबालिकालाई तत्कालका लागि अस्थायी संरक्षण केन्द्रमा राखिएको छ । उनीहरूको दीर्घकालीन व्यवस्थापन र संरक्षणका लागि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया समेत अगाडि बढाइएको छ ।
प्रदेश बालअधिकार समिति, राष्ट्रिय बालअधिकार परिषद्, कानेपोखरी गाउँपालिकाका बालकल्याण अधिकारी, जिल्ला प्रशासन कार्यालय मोरङ तथा जिल्ला प्रहरी कार्यालय मोरङ सम्मिलित टोलीले उक्त बालगृहमा स्थलगत निरीक्षण गरेको थियो । अनुगमनका क्रममा बालगृह अवैध रूपमा सञ्चालन भइरहेको पाइएपछि बालबालिकाको उद्धार गरिएको हो ।
बालबालिकाको सुरक्षा, संरक्षण र अधिकार सुनिश्चित गर्न गरिएको यस कारबाहीपछि घटनाको थप अनुसन्धान तथा व्यवस्थापन कार्य सुरु गरिएको महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ ।

